‘इक्कीस’ हेरेपछि अमिताभ बच्चन भावुक, नाति अगस्त्य नन्दाको अभिनयको खुलेर प्रशंसा गरे

3 दिन पहिले प्रकाशित

एजेन्सी,पुष ८ गते । बलिउडका महानायक अमिताभ बच्चनले नाति अगस्त्य नन्दाको डेब्यू फिल्म ‘इक्कीस’ हेरेपछि भावुक प्रतिक्रिया दिएका छन् । मुम्बईमा आयोजित स्पेसल प्रिमियरपछि उनले ब्लगमार्फत आफ्ना अनुभूति सार्वजनिक गर्दै फिल्मले आफूलाई गर्व र खुशीका आँसुले भरिदिएको उल्लेख गरेका छन् । सन् १९७१ को भारत–पाक युद्धका परमवीर चक्र विजेता सेकेन्ड लेफ्टिनेन्ट अरुण खेत्रपालको भूमिकामा देखिएका अगस्त्यको अभिनयले आफूलाई गहिरो प्रभाव पारेको अमिताभले बताएका छन् ।

अमिताभले अगस्त्यको अभिनयमा परिपक्वता, इमानदारी र स्वाभाविकता देखिएको भन्दै कुनै बनावटीपन नरहेको प्रतिक्रिया दिएका छन् । फिल्मको प्रस्तुति, लेखन र निर्देशनलाई समेत उत्कृष्ट भन्दै उनले ‘इक्कीस’ लाई सशक्त वार बायोपिकका रूपमा वर्णन गरेका छन् । श्रीराम राघवन निर्देशित यो फिल्ममा जयदीप अहलावत र सिमर भाटियाको पनि मुख्य भूमिका रहेको छ । आगामी १ जनवरी २०२६ मा प्रदर्शन हुने तय भएको ‘इक्कीस’ प्रति अमिताभको भावुक समीक्षाले दर्शकको उत्साह अझै बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?