शाहरुख खानको नेटफ्लिक्स सिरिजमाथि वानखेडेको प्रहार, दिल्ली उच्च अदालतले रेड चिलिज र नेटफ्लिक्सलाई पठायो नोटिस

4 दिन पहिले प्रकाशित

एजेन्सी, असोज २२ गते ।  बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानको प्रोडक्सन कम्पनी रेड चिलिज इन्टरटेन्मेन्ट र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्स लाई दिल्ली उच्च अदालतले नोटिस जारी गरेको छ।
यो नोटिस आइआरएस अधिकारी समीर वानखेडे द्वारा दायर गरिएको मानहानी मुद्दासँग सम्बन्धित हो। वानखेडेको आरोप अनुसार वेब सिरिज ‘The Bads of Bollywood’ मा उनलाई गलत तरिकाले प्रस्तुत गरिएको छ, जसले उनको व्यक्तिगत छविलाई मात्रै होइन, कानून कार्यान्वयन निकायहरूको विश्वसनीयतालाई समेत असर पारेको छ।

मामिलाको सुनुवाइ न्यायाधीश पुरुषेन्द्र कुमार कौर्व को इजलासमा भएको हो। अदालतले नेटफ्लिक्स र रेड चिलिज दुबैलाई वानखेडेका आरोपबारे लेखित जवाफ पेस गर्न आदेश दिएको छ। साथै, सो याचिकामा उल्लेख गरिएका कथित मानहानीपूर्ण सामग्रीलाई विभिन्न वेबसाइटहरूबाट हटाउने मागमाथि पनि प्रतिक्रिया दिन भनेको छ। अदालतले आगामी सुनुवाइको मिति ३० अक्टोबर २०२५ तोकेको छ।

वानखेडेले आफ्नो याचिकामा रु. २ करोड क्षतिपूर्ति माग गरेका छन्, जसलाई उनी टाटा मेमोरियल क्यान्सर अस्पताल मा दान गर्ने बताउँछन्। उनका अनुसार सो सिरिजमा लागूपदार्थविरुद्ध कार्यरत सरकारी निकायहरूको छवि भ्रामक र नकारात्मक रूपमा देखाइएको छ, जसले जनतामा कानून प्रणालीप्रतिको विश्वास कमजोर पार्न सक्छ। उनले यो पनि दाबी गरेका छन् कि शाहरुख खानका छोरा आर्यन खान सम्बन्धी मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ, तर सो सिरिजमार्फत यसलाई राजनीतिक तथा योजनाबद्ध रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

यसअघि अदालतले वानखेडेलाई मुद्दाको वैधता स्पष्ट गर्न संशोधित याचिका पेस गर्न निर्देशन दिएको थियो। त्यस्तै, नेटफ्लिक्सतर्फबाट वरिष्ठ अधिवक्ता राजीव नैयर ले तर्क गर्दै भनेका थिए कि सबै प्रतिवादी फरक–फरक स्थानमा रहेका छन्, जसका कारण अधिकार क्षेत्र सम्बन्धी प्रश्न उठ्न सक्छ।

हालसम्म अदालतले कुनै अन्तरिम आदेश जारी गरेको छैन। तर यो मुद्दाले बलिउडदेखि कानूनी वृत्तसम्म नयाँ बहस सुरु गरेको छ — ‘The Bads of Bollywood’ वास्तवमै वास्तविक घटनामा आधारित कलात्मक प्रस्तुति हो कि कसैको छवि बिगार्ने प्रयास? आगामी सुनुवाइपछि यसको जवाफ स्पष्ट हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?