‘आशिकी’ स्टार अनु अग्रवाललाई पूजामा देख्दा फ्यानहरू भावुक, पुराना दिन सम्झिए

9 दिन पहिले प्रकाशित

एजेन्सी, असोज १७ गते ।  ९० को दशकमा सुपरहिट फिल्म आशिकी बाट चर्चामा आएकी अभिनेत्री अनु अग्रवाल हालै अभिनेत्री काजोल र रानी मुखर्जीको उपस्थिति रहेको दुर्गा पूजा पण्डालमा देखिँदा धेरै फ्यान अचम्मित भएका छन्। लामो समयदेखि अभिनयदेखि टाढा रहेकी अनुलाई सार्वजनिक कार्यक्रममा देख्दा उपस्थित दर्शक मात्र नभई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन्।

सन् १९९६ मा एक भीषण सडक दुर्घटनामा परेपछि अनु अग्रवालको करियर अचानक थामिएको थियो। महिनौं कोमा र लामो उपचारपछि उनले ज्यान त जोगाइन् तर उनको अनुहारमा चोटपटकले असर पारेपछि फिल्म क्षेत्रमा फर्कन सकिनन्। हाल उनी योग प्रशिक्षकको रूपमा झुग्गीबस्तीमा पुगेर कक्षा लिने गर्छिन्। दुर्गा पूजामा देखिएकी अनुको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् जहाँ फ्यानहरूले ‘कहिल्यैको स्टार’ भन्दै उनको पहिलाको करियर सम्झिएका छन्।

धेरै प्रयोगकर्ताले उनको संघर्ष र जीवनप्रति सकारात्मक दृष्टिकोणको प्रशंसा गरे पनि कतिपयले उनको शारीरिक बनावटबारे टिप्पणी गरेका थिए। यसलाई लिएर फ्यानहरूले बचाउ गर्दै अनुले झेल्नुपरेको दुर्घटनाको पीडा सम्झाउने प्रतिक्रिया दिएका छन्। उनको जीवनकथा आज पनि प्रेरणादायी बनेको फ्यानहरूले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?