रणवीर कपूरविरुद्ध एफआइआर दर्ता गर्ने आदेश, ‘द ब्याड्स अफ बलिउड’ विवादमा

19 दिन पहिले प्रकाशित

एजेन्सी, असोज ७ गते । भारतीय अभिनेता रणवीर कपूरविरुद्ध एफआइआर दर्ता गर्न राष्ट्रिय मानवअधिकार आयोगले मुम्बई प्रहरीलाई निर्देशन दिएको छ। आर्यन खान निर्देशित वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ को सातौँ एपिसोडमा रणवीरले ई–सिगरेट प्रयोग गरेको दृश्य देखाइएको भन्दै उजुरी दर्ता भएपछि आयोगले यस्तो कदम चालेको हो। यसमा इलेक्ट्रोनिक सिगरेट निषेध ऐन, २०१९ को उल्लङ्घन भएको आरोप लगाइएको छ। यसैअन्तर्गत आयोगले सूचना तथा प्रसारण मन्त्रालयलाई पनि नोटिस पठाउँदै यस्ता सामग्रीहरू रोक्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।

मानवअधिकार आयोगले ई–सिगरेट प्रयोगको दृश्यमा कुनै स्वास्थ्य चेतावनी वा डिस्क्लेमर नदिइएको भन्दै यसले युवा दर्शकमाथि नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। आयोगको आदेशअनुसार, मुम्बई प्रहरीलाई रणवीर कपूरसँगै सिरिजका निर्माता र नेटफ्लिक्सविरुद्ध कारबाहीको दायरामा ल्याउन भनिएको छ। साथै, ई–सिगरेट निर्माण र आयातमा संलग्न व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान गर्न निर्देशन दिइएको छ। ‘द ब्याड्स अफ बलिउड’ रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो र हालै नेटफ्लिक्समार्फत सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?