‘सैयारा’ ले बक्स अफिसमा धमाका, ५७० करोड कमाएर कीर्तिमान तोड्यो

3 दिन पहिले प्रकाशित

एजेन्सी,भदौ २० गते । नवप्रवेशी कलाकार अहान पाण्डे र अनित पड्डा अभिनीत सुपरहिट हिन्दी फिल्म सैयारा ले प्रदर्शनको क्रममा एकपछि अर्को रेकर्ड तोड्दै विश्वव्यापी ५७० करोड भारू ग्रस कमाएको छ। भारतमै ४८ दिन प्रदर्शन भई ३२९.२५ करोड नेट कमाइ गरेको यस फिल्मले सलमान खानको सुल्तान, भन्सालीको पद्मावत र कार्तिक आर्यनको भूल भुलैया ३ जस्ता ठूला बजेटका सफल फिल्मलाई पछि पार्दै घरेलु बजारमा १४ औँ सर्वाधिक कमाउने हिन्दी फिल्मको सूचीमा प्रवेश गरेको छ।

वैश्विक कमाइमा सैयारा ले डंकी (४५५ करोड), ब्रह्मास्त्र (४३१ करोड), थ्री इडियट्स (४६० करोड) र चेन्नई एक्सप्रेस (४२२ करोड) जस्ता ब्लकबस्टरलाई उछिन्दै ‘छावा’ पछि यस वर्षको दोस्रो सर्वाधिक कमाउने भारतीय फिल्म बनेको हो। मोहित सुरी निर्देशित यो फिल्म भारतीय फिल्म इतिहासकै सर्वाधिक कमाउने प्रेमकथानक बनेको छ, जसले कबिर सिंह को ३७७ करोडको लाइफटाइम कमाइलाई पार गरेको छ। नवप्रवेशी कलाकार मुख्य भूमिकामा रहेको सर्वाधिक कमाउने फिल्मको कीर्तिमान पनि यसले तोडेको छ, जुन अघिल्लो पटक २०१२ मा स्टुडेन्ट अफ द इयर (१०९ करोड) ले बनाएको थियो। नेपालमा समेत फिल्मले आक्रामक व्यापार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?