जया बच्चनको व्यवहारप्रति अशोक पण्डितको आपत्ति, ‘जनताको अपमान’ भन्दै आलोचना

19 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २८ गते । बलिउड निर्देशक अशोक पण्डितले अभिनेत्री तथा सांसद जया बच्चनको हालैको व्यवहारलाई लिएर कडा आलोचना गरेका छन्। १२ अगस्टमा दिल्लीस्थित संविधान क्लब बाहिर एक युवक सेल्फी लिन आउँदा जया बच्चनले धक्का दिएको भिडियो सार्वजनिक भएपछि पण्डितले सामाजिक सञ्जालमार्फत यो घटना जनताको अपमान भएको टिप्पणी गरेका हुन्। उनले लेखेका छन्, “जनताले सेवा गर्नका लागि छानेको प्रतिनिधिले यसरी अनावश्यक आक्रोश देखाउनु निन्दनीय छ। चुनेका जनप्रतिनिधि र सार्वजनिक व्यक्तित्वले सदैव शालीन र सभ्य व्यवहार गर्नुपर्छ।”

घटनामा, संविधान क्लब बाहिर जया बच्चन कसैसँग कुरा गरिरहेका बेला एक युवक नजिकै आएर सेल्फी खिच्न खोजेका थिए। उनी आकस्मिक रूपमा क्यामेरामा पोज दिनुपर्ने अवस्थाबाट असन्तुष्ट हुँदै युवकलाई छातीमा धक्का दिएकी थिइन्, जसपछि युवक केही टाढा लडखडाउँदै गए। भिडियोमा उनले ‘के गर्दै हुनुहुन्छ? यो के हो?’ भनेर सोधेको सुनिन्छ। युवकले तत्काल माफी मागे पनि यो दृश्य सामाजिक सञ्जालमा भाइरल भई चर्चा र आलोचनाको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?