आमिर खानले मुम्बईको बाँद्रामा चार आलिशान अपार्टमेन्ट लिए भाडामा, मासिक भाडा २४.५ लाख
19 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २० गते । बलिउड सुपरस्टार आमिर खान पछिल्ला दिनमा विभिन्न कारणले चर्चामा छन्। रजनीकान्तको फिल्म ‘कूली’ मा रहेको उनको क्यामियोदेखि लिएर आफ्नो हिट फिल्म ‘सितारे जमीन पर’ युट्युबमा रिलिज गर्न लागेको खबरले उनले व्यापक ध्यान तानेका छन्। यसबीच, आमिरले मुम्बईको बाँद्रास्थित पाली हिल क्षेत्रमा रहेको विल्नोमोना बिल्डिङमा चार महंगा अपार्टमेन्ट भाडामा लिएको खुलासा भएको छ। ती फ्ल्याटहरूको मासिक भाडा २४ लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ।
शाहरुख खान बसिरहेको 'पूजा कासा'बाट करिब ७५० मिटर टाढा पर्ने उक्त अपार्टमेन्टहरू आमिरले ५ वर्षको लीजमा लिए पनि हालका लागि यो बसोबास अस्थायी हो। उनकाे विर्गो हाउसिङ सोसाइटीको फ्ल्याटहरू हाल रेनोवेशनमा रहेकाले उनी बाँद्रामा सरेका हुन्। आमिरकाे स्वामित्वमा सो हाउसिङमा १२ वटा अपार्टमेन्ट छन्। रेनोवेशनपछि ती घरहरूको मूल्य १०० करोड रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ।
आमिरले १.४६ करोड रुपैयाँ सुरक्षा रकमका रूपमा तिरेका छन् भने सम्झौताअनुसार प्रत्येक वर्ष भाडा ५ प्रतिशतले बढ्दै जानेछ। उनले यो सम्पत्ति विल्फ्रेड एन्थनी जोस परेराबाट लिएका हुन्। यो सम्झौता २०२५ मेदेखि २०३० मेसम्म लागु हुने गरी दर्ता गरिएको हो। संयोगवश, शाहरुख खान पनि सोही क्षेत्रमा २४ लाख रुपैयाँ महिना भाडामा बसिरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments