"बुवा भनेको बुवा नै हो" — अमीषा पटेलले अहान पाण्डे र ऋतिक रोशनको तुलना माथि दिइन कडा प्रतिक्रिया
5 दिन पहिले प्रकाशित

एजेन्सी,श्रावण ८ गते । अहान पाण्डे अभिनीत फिल्म ‘सैयारा’को लोकप्रियता चुलिँदै जाँदा धेरैले उनको तुलना ऋतिक रोशनसँग गर्न थालेका छन्। ऋतिकले वर्ष २००० मा ‘कहो ना... प्यार है’ बाट धमाकेदार डेब्यु गरेका थिए, जसमा अमीषा पटेल मुख्य भूमिकामा थिइन्। यही सन्दर्भमा X मा भएको 'Ask Me Anything' सेसनमा अमीषालाई अहान र ऋतिकको तुलना सम्बन्धी प्रश्न सोधिएको थियो। जवाफमा अमीषाले ‘सैयारा’ हेर्न नपाएको भन्दै अहानको तारिफ त गरिन्, तर हँसिलो शैलीमा भनिन्, “बुवा भनेको बुवा नै हो, छोरा त छोरा नै हो।” डुग्गू (ऋतिक रोशनको उपनाम) अझै पनि धेरै स्टारहरूका लागि चुनौती भएको उनले उल्लेख गरिन्।
यसअघि मुम्बईमा पपाराजीले सोध्दा पनि अमीषाले अहान र ऋतिकको तुलना हुनुमा आश्चर्य व्यक्त गर्दै नयाँ कलाकारहरूलाई शुभकामना दिएकी थिइन्। उनले भनिन्, “मैले फिल्म हेरेको छैन, न त मेरा साथीहरूले नै। त्यसैले फिल्मको बारेमा टिप्पणी गर्नु उचित हुँदैन। तर हो, सोशल मिडिया र पीआर टिमहरूले पहिलेबाट नै यो तुलना सुरु गरिसकेका थिए।” अमीषाले २५ वर्षपछि भए पनि 'कहो ना... प्यार है' जस्तो कल्ट फिल्मसँग कुनै फिल्मको तुलना हुनु गौरवको विषय भएको बताउँदै अहान र उनको टिमलाई सफलता र उज्ज्वल भविष्यको शुभकामना दिइन्। मोहित सूरीको निर्देशनमा बनेको ‘सैयारा’ले हालसम्म १५० करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेको छ।
कमेन्ट गर्नुहोस्
view comments