‘डन’ का निर्देशक चन्द्र बरोटको ८६ वर्षको उमेरमा निधन, मुम्बईमा अन्तिम सास लिए

10 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ४ गते । सुपरहिट हिन्दी फिल्म ‘डन’ (१९७८) का निर्देशक चन्द्र बरोटको ८६ वर्षको उमेरमा आइतवार जुलाई २० मा मुम्बईस्थित गुरु नानक अस्पतालमा निधन भएको छ। उनकी पत्नी दीपा बरोटले पुष्टि गरेअनुसार उनी विगत सात वर्षदेखि फोक्सोसम्बन्धी रोग पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए। अवस्था गम्भीर भएपछि अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डा. मनीष शेट्टीको टोलीले उपचार गरिरहेको थियो। यसअघि उनी जसलोक अस्पतालमा समेत भर्ना भएका थिए।

बरोटको निधनको खबर बाहिरिएसँगै बलिउडमा शोक छाएको छ। ‘डन’ को रिमेक बनाएका निर्देशक फरहान अख्तरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिँदै लेखे, “ओरिजिनल डनका निर्देशक अब हामीबीच छैनन्, उनको आत्माले शान्ति पाओस्।” चन्द्र बरोटले आफ्नो करिअर मनोज कुमारका सहायक निर्देशकका रूपमा सुरू गरेका थिए र ‘पूरब और पश्चिम’, ‘शोर’ र ‘रोटी कपड़ा और मकान’ जस्ता चर्चित फिल्ममा काम गरेका थिए। ‘डन’ पछि उनले केही फिल्म निर्देशन गरे पनि त्यो सफलता दोहोर्याउन सकेनन् र ‘वन हिट वन्डर’ को रूपमा चिनिन थाले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?