तीज नजिकिँदै गर्दा गीत रेकर्डिङ र सार्वजनिक गर्ने चटारो, कलाकारहरू देश–विदेशमा व्यस्त

6 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार १९ गते । तीज आउन अझै डेढ महिना बाँकी भए पनि नेपाली संगीत क्षेत्र तीजमय बन्दै गएको छ। शान्तिश्री परियार, समीक्षा अधिकारी, देवीका केसी, कोमल ओली, एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली लगायतका गायिकाहरूले नयाँ तीजगीत रेकर्ड गर्दै युट्युबमा सार्वजनिक गर्न थालेका छन्। गायक पशुपति शर्मा यस वर्ष आफ्नै सिर्जनामा सीमित रही २–३ वटा मात्र गीत ल्याउने तयारीमा छन्। कोरियोग्राफर शंकर बिसीले ८ वटा गीतको छायांकन सकेर अन्य केहीको तयारी गरिरहेको जानकारी दिएका छन्। तीज गीतमा अपेक्षाकृत कम चहलपहल देखिए पनि केही सर्जक र कलाकार भने पुरानै जोशमा छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापाका अनुसार तीजगीत निर्माणमा लगानी कम हुँदै गएको छ। भिडिओ निर्माण खर्च महँगो भएको र गीतको जीवनचक्र छोटो हुने भएकाले लगानीकर्ताहरू धेरै उत्साहित नरहेको उनको भनाइ छ। गत वर्ष जस्तै ३०० हाराहारी गीत आउने सम्भावना यस वर्ष कम रहेको उनले बताएकी छन्। यता, तीज विशेष कार्यक्रमका लागि कलाकारहरू विदेशतिर व्यस्त छन्। पशुपति शर्मा, शान्तिश्री परियार, रचना रिमाल, देवी घर्ती लगायतले यसपालि पनि तीजको अवसरमा विदेशमा रहेका नेपालीलाई मनोरञ्जन दिन थालिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?