‘हात-पाँखाला बाँधेर लैजाऊ, म मर्जीले जाँदिन’ — जब आमिर खानले ठाडो पारामा अस्वीकार गरे अन्डरवर्ल्डको पार्टीको निम्ता

2 दिन पहिले प्रकाशित

एजेन्सी,असार १५ गते । बलिउड अभिनेता आमिर खानले ९० को दशकमा अन्डरवर्ल्डले दुबईमा आयोजना गरेको एक पार्टीमा निमन्त्रणा पठाएको खुलासा गरेका छन्। तर उनले उक्त निमन्त्रणालाई स्पष्ट रूपमा अस्वीकार गरेका थिए। ‘द लल्लनटप’लाई दिएको अन्तर्वार्तामा आमिरले भने, “उनीहरूले मलाई पार्टीमा बोलाउन अनेक प्रयास गरे। पैसा दिने, मन पर्ने काम गरिदिने समेत भने। तर म आफ्नो इच्छाविपरीत त्यहाँ जान तयार थिइन।”

आमिरका अनुसार अन्डरवर्ल्डका मानिसहरूले उनलाई धम्क्याउँदै भनेका थिए कि उनको उपस्थिति पहिले नै घोषणा भइसकेको छ र अब नआए उनीहरूको ‘प्रतिष्ठा’मा आंच आउँछ। तर आमिरले कडा जवाफ दिए, “तपाईंहरू मलाई कुट्न सक्नुहुन्छ, टाउकोमा प्रहार गर्न सक्नुहुन्छ, हात–पाँखाला बाँधेर जबरजस्ती लैजान सक्नुहुन्छ, तर म आफ्नै इच्छाले त्यहाँ जाँदिन।” त्यसपछिका दिनमा ती व्यक्तिहरूले फेरि कहिल्यै सम्पर्क नगरेको उनले बताए।

त्यसबेला आमिर खानकी पत्नी रीना दत्ता थिइन् र दुई सन्तान—छोरी आइरा र छोरा जुनैद थिए। आमिरले भने, “म त्यतिबेला निकै डराएको थिएँ। मेरा दुई नाबालक बच्चाहरू थिए र उनीहरूको सुरक्षाको चिन्ता थियो। बाबुआमा पनि निकै चिन्तित हुनुहुन्थ्यो। तर म आफ्नो जीवन आफूले चाहेको तरिकाले बाँच्न चाहन्थेँ। म अन्डरवर्ल्डको पार्टिमा जान चाहन्नथें।”

यो किस्सा महावीर जैन नामका फिल्म निर्माता पनि दुई वर्षअघिको एक अन्तर्वार्तामा साझा गरिसकेका छन्, जहाँ उनले आमिर खानले आफ्नो जीवनको जोखीम उठाएर अन्डरवर्ल्डको दबाब अस्वीकार गरेको बताएका थिए। ८० र ९० को दशकमा अन्डरवर्ल्डको बलिउडमा व्यापक प्रभाव थियो र अधिकांश कलाकारहरू उनीहरूको दबाबमा पार्टीमा जान विवश हुन्थे। तर आमिर खान भने आफ्नो सिद्धान्त र आत्मसम्मानमा अडिग रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?