पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप भव्य रूपमा सम्पन्न, अब्सुल्युट डोजाङ टिम च्याम्पियन

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २१ गते । पोखरामा आयोजित पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिप भव्यताका साथ सम्पन्न भएको छ। तेक्वान्दोकी अन्तर्राष्ट्रिय रेफ्री रेखमाया गुरुङको आयोजनामा तथा ९९ वर्षीय पूर्व राजसभा सदस्य अमरबहादुर गुरुङको मुख्य प्रायोजनमा सम्पन्न दुईदिने प्रतियोगितामा कुल ७७४ खेलाडीहरूले सहभागिता जनाउँदै आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गरेका थिए।

प्रतियोगितामा आयोजक संस्था अब्सुल्युट डोजाङले १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पार्न सफल भयो। त्यसैगरी, शहीद मेमोरियल माविले ९ स्वर्णका साथ दोस्रो स्थान हासिल गर्दा पोखरा तेक्वान्दो डोजाङ ५ स्वर्णसहित तेस्रो स्थानमा रह्यो। प्रशिक्षक रेखमाया गुरुङले प्रतियोगिताको समग्र समापनबारे जानकारी दिँदै सफल आयोजनाको श्रेय सम्पूर्ण टिमको अथक परिश्रमलाई दिइन्।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल तथा कोरियाका तेक्वान्दो समितिका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगितामा अमरबहादुर गुरुङको सक्रिय उपस्थितिले कार्यक्रममा थप गरिमा प्रदान गरेको थियो। उनी समाजसेवी रमेश गुरुङका पिता हुन्, जसले ९९ वर्षीय बुबामा अझै खेलकुदप्रतिको लगाव देखिएकाले मुख्य प्रायोजक बन्न प्रेरित भएको बताए।

गण्डकी प्रदेशमा यसरी पहिलोपटक यति ठूलो स्तरको तेक्वान्दो च्याम्पियनशिप आयोजना गरिएको हो। पोखरामा रहेका ४० तेक्वान्दो डोजाङहरूमध्ये अब्सुल्युट डोजाङको नेतृत्वमा आयोजना गरिएको यस प्रतियोगिताले गण्डकी प्रदेशमा तेक्वान्दो खेलको विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

कार्यक्रम अन्तर्गत स्व. शुभा गुरुङको नाममा विशेष पुरस्कार समेत वितरण गरिएको थियो। उक्त पुरस्कारमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?