‘स्पिरिट’ फिल्म विवाद: आठ घण्टे सिफ्ट मागेपछि दीपिका पादुकोण हटाइएकी, अजय-काजोलको प्रतिक्रिया

4 दिन पहिले प्रकाशित

एजेन्सी, जेठ १६ गते ।  निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म स्पिरिट लाई लिएर बलिउडमा चर्को बहस सुरु भएको छ। अभिनेत्री दीपिका पादुकोणले फिल्ममा काम गर्नका लागि आठ घण्टाको सिफ्ट, चर्को पारिश्रमिक, मुनाफामा हिस्सा तथा तेलुगु संवाद नबोल्ने जस्ता केही माग राखेपछि निर्माण टिमले उनलाई "अव्यवसायिक" भन्दै फिल्मबाट हटाएको हो।

दीपिका हालै आमा बनेकी हुन्। सेप्टेम्बर २०२४ मा मातृत्व प्राप्त गरेकी उनले आफ्नो पारिवारिक र पेशागत जीवनको सन्तुलन मिलाउन आठ घण्टा मात्र काम गर्न चाहेको बताइएको छ। तर निर्देशक सन्दीप वांगाले यी शर्तहरू स्वीकार गर्न नसकेपछि अभिनेत्री तृप्ति डिमरीलाई फिल्ममा लिइएको हो।

यसै सन्दर्भमा अभिनेता अजय देवगन र अभिनेत्री काजोलले प्रतिक्रिया दिएका छन्। काजोलको फिल्म माँ को ट्रेलर लन्च कार्यक्रममा पत्रकारले ‘उद्योगमा नयाँ आमाहरू आठ घण्टा सिफ्ट मागिरहेका छन्, यो जायज हो?’ भनेर सोध्दा काजोलले हाँस्दै भनिन्, “मलाई यो कुरा मनपर्‍यो कि तपाईं कम काम गर्न सक्नुहुन्छ।”

यता अजय देवगनले भने, “धेरैजसो इमानदार फिल्म निर्माताहरूलाई यसमा कुनै आपत्ति हुँदैन। आठ घण्टा काम गर्नु आमा बनेका कलाकारका लागि स्वाभाविक हो। यो व्यक्तिपिच्छे निर्भर गर्छ र मलाई लाग्छ, उद्योगमा धेरैले यो कुरा बुझेका छन्।”

दीपिकाको हटाइएका कारण र त्यसले उत्पन्न गरेको लचिलो कार्यसमयको बहसले बलिउडमा काम गर्ने वातावरण र कलाकारहरूको व्यक्तिगत जीवनको सन्तुलनबारे नयाँ विमर्शको ढोका खोलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?