रणदीप हुड्डाको खुलासा : "रंग दे बसन्ती" अस्वीकार गर्नु जीवनको पछुतो निर्णय

3 दिन पहिले प्रकाशित

एजेन्सी, बैशाख ३ गते । बलिउड अभिनेता रणदीप हुड्डा अहिले फिल्म ‘जाट’ मा निभाएको खलनायक भूमिकाका कारण चर्चामा छन्। तर एक पछिल्लो अन्तर्वार्तामा उनले आफ्नो फिल्मी करियरसँग जोडिएको एक महत्वपूर्ण पछुतो निर्णयबारे खुलासा गरेका छन्।

शुभांकर मिश्राको पडकास्ट मा कुरा गर्दै रणदीपले "रंग दे बसन्ती" मा भगत सिंहको भूमिका आफूलाई अफर गरिएको तर आफैंले त्यो अस्वीकार गरेको बताएका छन्। उनका अनुसार उनले अडिसन पनि दिएका थिए र निर्देशक राकेश ओमप्रकाश मेहराले उनको काम मन पराएका थिए। “तर त्यतिबेला म फिल्म क्षेत्रका केवल दुई जना— मेरी प्रेमिका र निर्देशक राम गोपाल वर्मा—लाई मात्र चिन्थें,” रणदीपले भने।

उनका अनुसार, संक्षिप्त भूमिका भएका कारण प्रेमिकाले फिल्म नगर्न सुझाव दिएकी थिइन्। राम गोपाल वर्माले समेत उनलाई आश्वासन दिएका रहेछन्— “म तिमीलाई मुख्य भूमिका दिनेछु, त्यो फिल्ममा त तिमी आमिर खानको पछाडि उभिने मात्र हुन्छौ।”

रणदीप भन्छन्, “त्यो समयमा म अलिकति घमण्डमा थिएँ। र मैले रंग दे बसन्ती जस्तो अवसर गुमाएँ। म सधैं फरक निर्देशकहरूसँग काम गरें, जसले गर्दा मेरो करियरको ग्रोथ कम भयो जस्तो लाग्छ।”

आज रणदीप हुड्डा एक परिपक्व अभिनेता मानिन्छन्, तर उनले अझ पहिले नै ठूलो उचाइ लिन सक्थे भन्ने प्रष्ट हुन्छ यो आत्मस्वीकृतिबाट। "रंग दे बसन्ती" जस्तो आइकोनिक फिल्ममा अभिनय गर्ने मौका गुमाउनु कुनै पनि कलाकारका लागि जीवनभरको पछुतो हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?