साइबर ठगीबाट सावधान! अनलाइन लोन र सेयरमार्केटको नाममा फैलिँदै फिशिङ लिंक, नेपाल प्रहरीको चेतावनी

8 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २८ गते । नेपाल प्रहरीको साइबर ब्यूरोले हाल सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत फिशिङ लिंक पठाई साइबर ठगी बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। लोन भुक्तानी वा सेयर मार्केटसम्बन्धी तालिमको नाममा विभिन्न लिंक पठाई ती लिंकमार्फत .exe फाइलहरू मोबाइल वा कम्प्युटरमा इन्स्टल गर्न लगाउने प्रयास भइरहेको छ। साथै, बैंक तथा वालेट सेवाका प्रयोगकर्तालाई “तपाईंको खातामा असमान्य गतिविधि देखिएको” भन्दै खाता प्रमाणिकरणका नाममा लिङ्क क्लिक गर्न बाध्य पार्ने चेतावनीसहितको SMS पठाउने गरिन्छ, जुन ठगीको माध्यम हो।

साइबर ब्यूरोले यस्ता SMS वा लिंकमा क्लिक नगर्न, कसैसँग पनि व्यक्तिगत वा बैंकिङ विवरण साझा नगर्न र कुनै अनजान सफ्टवेयर मोबाइल वा कम्प्युटरमा इन्स्टल नगर्न विशेष अनुरोध गरेको छ। साइबर सुरक्षा सुनिश्चित गर्न सबैलाई सतर्कता अपनाउन अपील गरिएको छ। थप जानकारी वा सहयोगका लागि साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीसँग ९८५१२८६७७२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?