भारतमा फालिएको अज्ञात नेपाली महिलाको शव : धनुषा प्रहरीद्वारा सनाखतका लागि सहयोगको अपिल
8 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत २८ गते । मिति २०८१/११/१९ (2025 अप्रिल १) मा भारतको महाराष्ट्र राज्य, पलघर जिल्लाको मोखडा प्रहरी क्षेत्रभित्र एक अन्दाजी २५–२८ वर्षकी महिलाको शव ब्यागमा राखी पुलमुनी फालिएको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा मृतकको जिल्ला धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका–५ का राजु कुमार बरहीसँग प्रेम सम्बन्ध रहेको खुल्न आएको छ। मृतक विवाहित थिइन् र पहिलो श्रीमानबाट १–२ सन्तान रहेको जानकारी प्राप्त भएको छ, ती सन्तानहरू अहिले धनुषा जिल्लाकै महेन्द्रनगरमा मृतककी बहिनीको संरक्षणमा रहेका छन्। तर हालसम्म पनि मृतकको नाम, थर, ठेगाना खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त महिलाको पहिचानका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा सर्वसाधारण सबैलाई सहयोग गर्न अपिल गरेको छ। प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहद्वारा जारी सूचनामा, शवको सनाखत गर्न सहयोग पुर्याउने वा मृतकलाई चिनेका व्यक्तिहरूले प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ। संपर्कका लागि प्रहरीको नम्बर ९८५४०२६७७० उपलब्ध गराइएको छ।
कमेन्ट गर्नुहोस्
view comments