राजनीतिक अस्थिरताबीच दलहरू तीव्र ध्रुवीकरणमा, मोर्चाबन्दीको होडबाजी
7 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २२ गते । देशको तरल राजनीतिक अवस्थाबीच दलहरू तीव्र ध्रुवीकरणमा देखिएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे सहमतिपछि बनेको सत्ता गठबन्धनको प्रतिपक्षमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा विपक्षी मोर्चा बनेको छ। यता, पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते गणतन्त्र असफल भएको भन्दै साथ दिन गरेको आह्वानपछि राजावादी मोर्चाले आक्रामक रूप लिएको छ। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि गणतन्त्र र राजतन्त्र समर्थक शक्तिबीचको ध्रुवीकरण झन् चर्किएको छ।
राजनीतिक मोर्चाबन्दीमा मधेसवादी दलहरू पनि सक्रिय भएका छन्। उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउतसहितका नेताहरूको नेतृत्वमा बनेको सातदलीय संघीय लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनलगायत मुद्दामा न्यूनतम सहमति खोज्ने जनाएको छ। यसैगरी माओवादी, एकीकृत समाजवादी, नेसपा, विप्लव नेतृत्वको नेकपालगायत पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले पनि सरकार र राजावादीका विरुद्ध आन्दोलनलाई तीव्र बनाएका छन्।
विश्लेषकहरूबीच मोर्चाबन्दीको आवश्यकता र प्रभावको विषयमा मत विभाजित देखिन्छ। विश्लेषक डा. पिताम्बर भण्डारीका अनुसार ध्रुवीकरण स्वाभाविक भए पनि राष्ट्रिय मुद्दामा सहमति आवश्यक छ। संविधानविद् डा. भीमार्जुन आचार्य भने मोर्चाबन्दी देशको लागि दुर्भाग्यपूर्ण भन्दै सबै दलहरूलाई राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गर्छन्। राजावादी आन्दोलनभित्र नेतृत्व र एजेन्डाको स्पष्टता नहुँदा आन्तरिक विवाद चुलिएको छ, जसका कारण केही व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आएका छन्।
कमेन्ट गर्नुहोस्
view comments