'भारत कुमार' मनोज कुमारको ८७ वर्षको उमेरमा निधन, फिल्मी क्षेत्र र राष्ट्रभरि शोकको लहर
3 दिन पहिले प्रकाशित

एजेन्सी, चैत २२ गते । भारतीय सिनेमाका प्रसिद्ध अभिनेता तथा निर्देशक मनोज कुमारको शुक्रबार, ४ अप्रिलमा ८७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनले मुम्बईस्थित धीरूभाई अम्बानी अस्पतालमा अन्तिम सास लिए। मनोज कुमार देशभक्ति आधारित चलचित्रहरूका लागि विशेष चर्चित थिए, जसले गर्दा उनलाई ‘भारत कुमार’को उपाधि दिइएको थियो।
मनोज कुमारको निधनको खबरले फिल्म उद्योग मात्र होइन, सम्पूर्ण देशलाई शोकमा डुबाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, अक्षय कुमार, आमिर खान, विवेक अग्निहोत्री, मधुर भण्डारकर र आनन्द महिन्द्रा जस्ता चर्चित व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। उनका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
अक्षय कुमारले श्रद्धाञ्जली दिँदै भने, "म उहाँबाट सिक्दै ठूलो भएँ कि देशका लागि प्रेम र गौरवजस्तो भावना कुनै अर्को हुन सक्दैन। हामी कलाकार भएर यो भावना नदेखाउने हो भने को देखाउने? उहाँजस्तो असल मानिस र हाम्रो उद्योगको अमूल्य सम्पत्ति कोही थिएन। RIP मनोज सर। ओम शान्ति।" मनोज कुमारले एक पटक अक्षय कुमारलाई आफ्नो देशभक्ति फिल्महरूको उत्तराधिकारी मान्ने बताएका थिए।
आमिर खानले लेखे, “मनोज कुमार केवल अभिनेता वा निर्देशक होइन, एक संस्था थिए। उहाँका फिल्महरूले मलाई धेरै कुरा सिकाए। उहाँका कथा सामाजिक सन्देशमा आधारित हुन्थे, जसले उहाँलाई आम मानिसको नजिक पुर्याउँथ्यो।” निर्देशक विवेक अग्निहोत्रीले भने, "उहाँ साँचिकै एक मौलिक भारतीय फिल्म निर्माता हुनुहुन्थ्यो जसले बिना होहल्ला देशभक्ति सिनेमामा प्रस्तुत गर्नुभयो। उहाँ जस्ता कलाकारहरू कहिल्यै मर्नु हुन्न, उनीहरू स्मृतिमा, फिल्ममा, र राष्ट्रको धडकनमा सदैव जीवित रहन्छन्।”
मधुर भण्डारकरले मनोज कुमारसँग बिताएका सम्झनायोग्य पलहरूको तस्बिर साझा गर्दै भने, "उहाँ एक महान अभिनेता तथा निर्देशक हुनुहुन्थ्यो। उहाँसँग कुराकानी गर्ने अवसर पाउनु मेरो लागि गर्वको विषय थियो। उहाँका चलचित्रहरूले राष्ट्रिय गौरवको भावना जगाए र पिढीहरूमा प्रेरणा बने।” आनन्द महिन्द्राले पनि ट्विटरमा लेखे, “मानौं मेरो बाल्यकालको एक अंश हरायो। हाम्रो परिवारले मनोज कुमारका कुनै पनि चलचित्र छुटाउँदैनथ्यो। उहाँ हाम्रो लागि केवल अभिनेता होइन, परिवारको सदस्य जस्तै हुनुहुन्थ्यो।”
प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै लेखे, “महान अभिनेता तथा निर्देशक मनोज कुमारको निधनले भारतीय सिनेमा एक प्रतीक गुमायो। उहाँका चलचित्रहरूमा देखिएको देशभक्ति करोडौं भारतीयको प्रेरणाको स्रोत बनेको थियो। उहाँको योगदान सधैँ सम्झिइनेछ। ओम शान्ति।”
कमेन्ट गर्नुहोस्
view comments