चीनमा भूकम्प: मृतक संख्या ९५, नेपालमा ठूलो मानवीय क्षति नभएको पुष्टि

1 दिन पहिले प्रकाशित

काठमाडौं, पुस २३ गते । मंगलबार बिहान चीनको सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार ६.८ म्याग्निच्युडको यो भूकम्पमा कम्तीमा १३० जना घाइते भएका छन्। चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो।

नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले भूकम्पका कारण नेपालमा हालसम्म कुनै ठूलो मानवीय क्षति नभएको जनाएको छ। तर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, धनकुटा, खोटाङ, र सोलुखुम्बुजस्ता जिल्लामा कडा धक्का महसुस गरिएको छ। इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरका केही क्षेत्रमा सामान्य धक्का महसुस भएको विवरण प्राप्त भएको छ।

सिन्धुपाल्चोकमा भोटेकोशी गाउँपालिकास्थित प्रहरी चौकी भवन चर्किएको र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ। ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा भूकम्पले असर पारेको छ। काठमाडौँको स्युचाटारस्थित एक घरको छतबाट हामफाल्दा एक व्यक्ति घाइते भएका छन्, जसको हाल अस्पतालमा उपचार भइरहेको छ। यसैगरी, बाराको त्रिचन्द्र माविका ११ जना विद्यार्थी भूकम्पको समयमा बेहोस भएका थिए, तर उपचारपछि उनीहरूको अवस्था सामान्य भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?