अन्तर्राष्ट्रिय खेलका पदक विजेता खेलाडीहरू सम्मानित
1 दिन पहिले प्रकाशित
काठमाडौं, पुस २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साफ महिला फुटबल, एसियाली कराँते, र कावा बीच भलिबल खेलमा पदक जित्ने खेलाडी, प्रशिक्षक, र व्यवस्थापन टोलीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभयो। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम मापदण्डअनुसार पुरस्कार वितरण गरिएको हो।
सम्मान कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिपका विजेता अमृता जैसी, प्रशिक्षक राजेन्द्र तामाङ, र व्यवस्थापक वृन्दा देवान; बीसौँ एसियाली कराँते च्याम्पियनसिपकी पदक विजेता एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ; तथा कावा बीच भलिबल प्रतियोगिताका विजेता कमला पुन, मनिषकुमारी चौधरी, र प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कृत गरिएको थियो। यी खेलाडीहरूले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरियो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलाडीहरूलाई बधाई दिँदै उच्च मनोबल, टिम स्पिरिट, र सही रणनीतिले खेलमा सफलता मिल्ने बताउनुभयो। उहाँले नेपाली खेल क्षेत्रमा प्रगति होस् भन्ने कामनासहित निरन्तर मेहनत गर्न खेलाडीहरूलाई प्रोत्साहन गर्नुभयो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि अन्य खेलाडीहरूको विवरण छिट्टै पठाउन सम्बन्धित पक्षलाई निर्देशन दिँदै सम्मान र पुरस्कारलाई समयमै सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो।
कमेन्ट गर्नुहोस्
view comments