नेपालमा भूकम्पको धक्का: तिब्बत केन्द्रबिन्दु र प्रभाव

1 दिन पहिले प्रकाशित

काठमाडौं, पुस २३ गते ।मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु तिब्बतको डिंग्री काउन्टी रहेको थियो, जसले ७ म्याग्निच्युडको तीव्रता नापिएको थियो। तिब्बतमा गएको यो शक्तिशाली भूकम्पको प्रभावले नेपालमा पनि मानिसहरू त्रसित भए। काठमाडौं उपत्यकालगायतका क्षेत्रका बासिन्दाहरू अचानक घरबाहिर निस्केर सुरक्षित ठाउँ खोज्न थालेका थिए।

काठमाडौंको स्युचाटारमा एक व्यक्तिले भूकम्पको धक्का महसुस भएपछि डेढ तले घरको छतबाट हाम फालेका थिए। नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीका अनुसार ती व्यक्तिको दुबै खुट्टामा चोट लागेको छ र उनी मनमोहन मेमोरियल अस्पतालमा उपचाररत छन्। यस्तै, सिन्धुपाल्चोकको प्रहरी चौकी भवनमा क्षति पुगेको छ भने रामेछाप, ओखलढुंगा र सोलुखुम्बुमा पनि केही खाली घर र गोठहरू भूकम्पबाट प्रभावित भएका छन्।

भूकम्पले शैक्षिक क्षेत्रमा पनि प्रभाव पार्‍यो। बाराको कलैया उपमहानगरपालिका-१ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा अध्ययनरत ११ विद्यार्थीहरू बेहोस भएका थिए। उनीहरूलाई तुरुन्तै प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो र अहिले सबैजना स्वास्थ्य अवस्थामा फर्किएको प्रहरीले जानकारी दिएको छ। हालसम्म भूकम्पका कारण ठूलो मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?