एनपिएल फाइनल: सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने

22 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुस ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो सिजनको फाइनल शनिबार मध्यान्ह सवा १२ बजे त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा हुँदैछ। निर्णायक खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका यी दुई टोलीले आआफ्नो प्रदेशको प्रतिनिधित्व गरिरहेका छन्। सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको छ भने जनकपुर बोल्ट्सले मधेश प्रदेशको पहिचान बोकेको छ।

फाइनल खेलअघि, जनकपुर बोल्ट्सका समर्थकहरूले आफ्नो टोलीको जितका लागि विशेष धार्मिक गतिविधि गरेका छन्। मधेश प्रदेशका युवाहरूले विभिन्न मठमन्दिरमा पुगेर पूजापाठ र मंगलवपाठ गरेका छन्। राजदेवी मन्दिरमा गरिएको विशेष पूजा र अन्य धार्मिक स्थलहरूमा गरिएको कामना कार्यक्रममा सहभागी समर्थकहरूले आफ्नो टोलीप्रतिको भरोसा र उत्साह व्यक्त गरेका छन्। यो खेलले नेपाली क्रिकेटको नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?