साफ महिला च्याम्पियनसिप: भारतलाई पेनाल्टीमा पराजित गर्दै नेपाल फाइनलमा
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक १२ गते । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगशालामा भएको खेल विवादका कारण दुई पटक रोकिएर १७ मिनेट लम्बिएको थियो। निर्धारित समयसम्म खेल एक-एकको बराबरीमा सकिएपछि पेनाल्टी शुटआउटमा पुगेको खेलमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गर्न सक्यो, जसले नेपाललाई फाइनल प्रवेश गरायो।
नेपाल अब बुधबार हुने फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि, पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। नेपाल र भारतबीच साफको सेमिफाइनलमा यो दोस्रो पटकको प्रतिस्पर्धा हो। सन् २०२२ मा पनि दशरथ रंगशालामै नेपालले भारतलाई पराजित गरे पनि फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments