तमिल सुपरस्टार विजयले राजनीतिमा केन्द्रित हुन फिल्मी करिअर छोड्दै, अन्तिम फिल्म ‘थलापति ६९’ घोषणा

7 महीना पहिले प्रकाशित

३० भदौ, काठमाडौं । तमिल सुपरस्टार थलापति विजयले राजनीतिक करियरमा ध्यान केन्द्रित गर्न आफ्नो फिल्मी यात्रा समाप्त गर्ने तयारी गरिरहेका छन्। यसै क्रममा, उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्मको रूपमा ‘थलापति ६९’ घोषणा गरेको छ।

फिल्ममा विजयलाई लोकतन्त्रका लागि लड्दै गरेको भूमिकामा देख्न सकिने बताइएको छ। फिल्मको टिमले सामाजिक सञ्जालमा पोस्ट साझा गर्दै विजयका हिट फिल्महरूका दृश्यहरू समावेश गरेको छ।

निर्माताहरूले पोस्टमा लेखेका छन्, "हामीलाई यो घोषणा गर्न पाउँदा खुसी छौं कि यो तमिल फिल्म उत्सव जस्तै छ। थलापति विजयप्रतिको हाम्रो माया अवर्णनीय छ। हामी उहाँका फिल्म हेर्दै हुर्किएका हौं र उहाँ हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा हुनुहुन्छ। ३० वर्षभन्दा बढी समयदेखि हामीलाई मनोरञ्जन प्रदान गर्नुभएकोमा धन्यवाद।"

‘थलापति ६९’ अक्टोबर २०२५ मा रिलिज हुनेछ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो फिल्मपछि विजयले फिल्मी संसारबाट ब्रेक लिँदै राजनीति तर्फ पूर्ण ध्यान दिनेछन्।

विजयले यसैवर्ष फेब्रुअरी २ मा आफ्नो राजनीतिक पार्टी ‘तमिलगा वेत्री कझगम’ स्थापना गरेका थिए, जसको अर्थ तमिलनाडु विजय पार्टी हो। विजयले सन् २०२६ को विधानसभा चुनाव लड्ने अपेक्षा गरिएको छ।

उनले सन् १९९२ मा फिल्म ‘नालैया थेरपु’बाट मुख्य अभिनेता रूपमा डेब्यु गरेका थिए र आफ्नो करिअरमा ‘मास्टर’ र ‘थेरी’ जस्ता ब्लकबस्टर हिट दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?