हेमा समितिको प्रतिवेदनपछि मलयालम फिल्म उद्योगमा हंगामा, ठूला स्टारहरू विवादमा
4 महीना पहिले प्रकाशित
एजेन्सी
चेन्नई,भदौ १२ गते । भारतको मलयालम फिल्म उद्योग यौन उत्पीडनको मुद्दाले ठूलो हलचलमा परेको छ। महिला अभिनेत्रीहरू र फिल्मकर्मीहरू आफ्नो कार्यक्षेत्रमा यौन हिंसाको शिकार भएको खुलासा गर्न थालेपछि, केही ठूला स्टारहरू पनि विवादमा तानिएका छन्। यसै क्रममा, चर्चित अभिनेता तथा मलयालम चलचित्र कलाकार संघ (एमएमए) का अध्यक्ष मोहनलालले पदबाट राजीनामा दिएका छन्। मोहनलालले आफ्नो राजीनामाबारे केरलाका मुख्यमन्त्रीलाई जानकारी गराएका छन्, र यो राजीनामा संघमा कलाकारहरूविरुद्ध यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि आएको हो। मोहनलालसहित संघका १७ कार्यकारिणी सदस्यहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। यो विवादको चुरो सन् २०१७ मा अभिनेत्रीमाथि भएको उत्पीडनको घटनापछि केरला सरकारले गठन गरेको न्यायाधीश हेमा समितिको प्रतिवेदन सार्वजनिक भएपछिको घटनाक्रम हो। प्रतिवेदनले मलयालम फिल्म उद्योगमा महिला उत्पीडन र शोषणका घटनाहरूलाई उजागर गरेको छ। प्रतिवेदन सार्वजनिक भएपछि आइतबार दुई महत्वपूर्ण व्यक्तिहरूले पनि फिल्म उद्योगबाट राजीनामा दिएका थिए। निर्देशक रञ्जितले केरला फिल्म एकेडेमीको अध्यक्ष र अभिनेता सिद्दिकीले एमएमए अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। अभिनेत्री श्रीलेखा मित्राले निर्देशक रञ्जितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाइ एफआईआर दर्ता गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। यसैगरी, वरिष्ठ निर्देशक तुलसीदासमाथि अभिनेत्री श्रीदेविका र गीता विजयनले यौन उत्पीडनको आरोप लगाएका छन्, यद्यपि तुलसीदासले यी आरोपहरू अस्वीकार गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments