राष्ट्रपतिले बेलुका ५ बजेपछि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने
6 महीना पहिले प्रकाशित
असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज बेलुका ५ बजेपछि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ ।
आज बेलुका ५ बजेसम्म सरकार गठनका लागि दिएको समय नै बाँकी रहेको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमा सकिएपछि मात्रै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै हुने भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
यसैबीच नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले कम्तीमा चार जना मन्त्री माग गरेको छ । कोइरालाको निवास विशालनगरमा बसेको बैठकले नयाँ सरकारमा कांग्रेसले जति जना मन्त्री पाए पनि चार जना आफ्नो समूहका हुनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
view comments