विद्यार्थी रिहाइको माग गर्दै विराटनगरमा सरकारी गाडीमा आगजनी
7 महीना पहिले प्रकाशित
जेठ २७ गते । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस स्ववियु सदस्य दीपक यादवको रिहाइ माग गर्दै विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी गरेका छन्।
आइतबार विराटनगरस्थित क्याम्पस अगाडी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्करपियो गाडीमा आगजनी भएको स्ववियु सभापति जशवन्त पौडेलले जानकारी दिए।
रंगेली नगरपालिकामा भएको अपारदर्शी गतिविधिको विरोध गरिरहँदा स्ववियु सदस्य यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा विद्यार्थी आन्दोलित भएको सभापति पौडेलले बताए।
यसक्रममा विद्यार्थीहरूले ६ वटा गाडीमा आगजनी र तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। योजना आयोगका उपाध्यक्ष डा। राजेन्द्र अधिकारी चढेको गाडी क्याम्पसको मुलद्वारअघि तोडफोड गर्दै आगजनी गरिएको हो।
त्यसैगरी, नेकपा एमाले जिल्ला पार्टी कार्यालय नजिक एक पार्टी प्यालेसमा पार्किङमा राखिएको ५ वटा गाडी तोडफोड भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यक्रम चलिरहँदा राखिएको गाडीमा तोडफोड भएको हो ।
प्रहरीका अनुसार बा ए।बी ८१८०, बागमती प्रदेश ०१-०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको हो।
हाल घटनालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशी र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब उपरिक्षक बुद्ध श्रेष्ठको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
क्याम्पस सभापति पौडेलका अनुसार रंगेली नगरपालिकाले शिक्षक नियुक्ती, नीजी विद्यालयको शुल्ककम गनुपर्ने विषयमा केही दिनअघि अपरादर्शी रूपमा काम गरेको जनाउँदै स्थानीय विद्यार्थीहरुले विरोध गरेका थिए।
सोही क्रममा महेन्द्र मोरङ क्याम्पसका स्ववियु सदस्य तथा रंगेली- ६ का स्थानीय यादवसहितको विद्यार्थी समूहलाई नगरपालिकाका कार्यकारी मेयर तथा प्रमुख प्रशासकीय अधिकृत, र नगर रक्षकउपर दुर्व्यवहार गरेका आरोपमा प्रहरीले पक्राउ गरेको उनले बताए।
घटनामा ४ जना नगरप्रहरी घाइते भएका थिए। घटनामा संलग्न भएको भन्दै प्रहरीले यादवसहित ६ जनालाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
पक्राउ परेकालाई छाड्नुपर्ने माग राख्दै महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले यसअघि पनि विराटनगरमा प्रदर्शन गरेका थिए।
पक्राउ पर्ने विद्यार्थीमा रंगेली- ६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली- ७ का १८ वर्षीय रमणकुमार राय, रंगेली- ८ का १९ वर्षीय विषेक झा र रंगेली- २ का मिलन मिश्र रहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments