धनुषामा बैँक तथा वित्तिय संस्थालाई पाँच लाखभन्दा बढी रकम बोक्न सुरक्षाकर्मीसहित गाडी अनिवार्य !
12 महीना पहिले प्रकाशित

बैशाख २६ गते । धनुषामा बैँक तथा वित्तीय संस्थाले ५ लाखभन्दा बढी रकम ल्याउन तथा लग्न सुरक्षाकर्मी र बैँक गार्डका साथै चार पाङ्ग्रे गाडीमा बाकसमा ताल्चा लगाएर ल्याउनुपर्ने भएको छ। गत सोमबार जनकपुरधाम उपमहानगरपालिका १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटपाट गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा यस्तो निर्णय भएको हो।
मंगलबार बैँक तथा वित्तीय संस्थाका प्रमुख तथा पदाधिकारीहरू सँग अन्तरक्रिया कार्यक्रमले जिल्ला प्रहरी कार्यालयबाट वितरण गरिएको ‘सेफ्टी एण्ड सेक्युरीटी प्रोटोक्लस फर बैँक एण्ड फाइनान्सीयल इन्सटिच्युशन’ अनुसारको सुरक्षा मापदण्ड प्रत्येक बैंक तथा वित्तिय संस्थाहरूले क्रमशः पुरा गर्दै जानेलगायतको निर्णय भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
यस्तै, प्रत्येक बैंक तथा वित्तिय संस्थाले एक्सेस कन्ट्रोल सिसी क्यामेराको अनिवार्य रूपले व्यवस्था गर्नुपर्ने, स्थानीय सुरक्षाकर्मीलेसुरक्षा अबलम्बनका लागी तोकी दिएका कमिकमजोरीहरू प्रत्येक बैंक तथा वित्तीय संस्थाहरूले सुधार गर्नु पर्ने, साथै सुरक्षा सम्बन्धमा समन्वय गर्नुपर्ने निर्णय भएको हो।
बैठकले नेपाल प्रहरी, सशत्र प्रहरी र राष्ट्र बैंक समेतको ३ सदस्यीय अनुगमन टोलीले सम्पूर्ण बैंक, वित्तिय संस्थाहरुको अनुगमन गरी प्रतिवेदन पेश गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments