सुनसरीको हरिनगरमा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर

9 महीना पहिले प्रकाशित

चैत २३ गते ।सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ । हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अश्रुग्यास र ५० राउन्ड बढी हवाई फायर गरेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।स्थानीयले प्रदर्शन निरन्तर गरेपछि प्रहरीले गोली चलाउँदा दुई जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढाले आक्रमण गरेका छन् । झडपमा परेर १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले जानकारी दिए ।


उनीहरुको बिराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बिहीबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका(१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायका बीचमा तनाव बढेको हो । दुवै समूहका स्थानीयहरु झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट तनाव सिर्जना भएको हो ।सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । प्रत्यक्षदर्शीले केही व्यक्ति घाइते भएका बताए पनि यकिन भइनसकेको सुनसरी प्रहरीले जनाएको छ ।

यसैबीच आज दिउँसो १२ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा लागू गरेको छ । हरिनगर गाउँपालिकाको सबै क्षेत्र र देवानगञ्जको वडा १ र ७ मा निषेधाज्ञा जारी भएको हो ।हिजो एसईई परीक्षाका क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । हिजो स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । मेहताको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?