तराई मधेसका सहरी क्षेत्रमा छाडा पशुचौपायाका कारण दिनहुँ दुर्घटना बढदै ,सर्वसाधारण हैरान

1 वर्ष पहिले प्रकाशित

धिरेश दत्त:  मधेस प्रदेशको राजधानी जनकपुरधाम लगायत मधेसका प्रायःजसो सबै जिल्लाका सहरी क्षेत्रमा छाडा पशुचौपायाका कारण दिनहुँ दुर्घटना बढिरहेको छ । बिहान बेलुकाको घुमफिर होस् वा कामका लागि बजार जाँदा छाडा पशुचौपायाका कारण दिनहुँ दुर्घटना बढिरहेको छ भने सर्वसधारणहरु हैरान हुने गरेको छ ।


बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन बाध्य भएको सर्वसधारणहरु बताउँछन् । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुचौपाया नगर क्षेत्रका चोक, बजार क्षेत्रमा छाडा छोड्दा समस्या भएको हो । सडकको माझमै बसेर गाईले बाटो छेकेका हुन्छन् । सडक पेटी वरपर पाठापाठीसँगै सुँगुरहरू हुन्छन् ।


बजारमा हिँड्दा हिँड्दै गाई वा साँढेले पुच्छर चलाएर मलमूत्र छर्किँदा फोहोर बनाउनेसँगै सिङ चलाउँदा कतिपय घाइतेसमेत हुने गरेका छन् ।
प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथ पशुधनीले आफ्ना वस्तु फुकाएर बजार वा चोकतिर लघार्ने काम चलनजस्तै बनेको छ । छाडा पशुले बजार क्षेत्रमा फोहर बढाउनुका साथै ट्राफिक समस्या पनि बढाएका छन् ।

पालिकाको चुनाव हुँदा उम्मेदवारहरूले सहरी क्षेत्रमा छाडा पशुचौपाया नियन्त्रण गर्ने बताएका भए पनि अझै कार्यान्वयन भएको छैन । जनकपुरधाम उपमहानगरपालिका का मेयर मनोज साहले जनकपुरधामको कुवा स्थित गौशाला निर्माण गरेपनि त्यसको कुनै खासै प्रभाव नपरेको र पालिकाका जनप्रतिनिधिहरुले छाडा पशुचौपायाको व्यवस्थापनतर्फ प्रभावकारी काम नगरेको स्थानीयवासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?