धनुषामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान दुई चरणमा सञ्चालन गरिने

1 वर्ष पहिले प्रकाशित

फागुन ४ गते । धनुषामा दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ।

पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार १०९ बालबालिका र दोस्रो चरणमा १ लाख १ हजार ८५१ बालबालिकालाई खोप दिइने छ। फागुन १३ गतेदेखि ३० गतेसम्ममा खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए।

पहिलो चरणमा फागुन १३ देखि २१ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, मुखियापट्टी मुसहनिया गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मिनीया गाउँपालिका, क्षिरेश्वरनाथ नगरपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बालबालिकालाई दादुरा–रुबेला खोप दिइने उनले बताए।

यस्तै, दोस्रो चरणमा फागुन २२ गतेदेखि ३० गतेसम्म धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, जनकनन्दनी गाउँपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला विहारी नगरपालिकामा खोप दिइने खोप प्रमुख यादवले बताए।

स्वास्थ्य कार्यालयका अनुसार ९ महिनादेखि ५ वर्षमुनिका ६७ हजार २४४ जनालाई खोप दिइने लक्ष्य छ भने ५ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५८ हजार ७८६ जनालाई खोप दिइने लक्ष्य छ।

स्वास्थ्य कार्यालयले १ हजार ११२ वटा खोप केन्द्र, ८३३ वटा विद्यालयमा खोप दिने लक्ष्य लिएको छ। यसका लागि २ हजार २२४ जना स्वयंसेवक र ४ सय जना दक्ष स्वास्थ्यकर्मीलाई परिचालन गरिने खोप प्रमुख यादवले बताए।

यस्तै, १७३ वटा स्वास्थ्य संस्था र आधारभूत स्वास्थ्य संस्था, ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिन लागेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?