मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने
4 वर्ष पहिले प्रकाशित
मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ।
मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पुर्याउन सक्ने भएकोले पानी पथान्तरणको कार्य रोक्ने तयारी गरिएको छ।
‘मेलम्चीको पानी ल्याउने कार्य बर्खाभर बन्द गर्ने तयारी छ। हामी औपचारिक सूचना निकालेरै जानकारी दिन्छौं,’ आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्ची खोलाको पानी धमिलो हुन थालेको छ। सुरूङमा क्षति नहोस् भनेर पानी ल्याउन रोक्न लागिएको हो।’
आयोजनाले सम्भवत: आजै खानेपानी मन्त्रालयसँग समन्वय गरी बर्खाभर पानी ल्याउन नसकिने सूचना जारी गर्नेछ।
पन्तका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइँदै आइएको थियो।
‘मेलम्चीमा पानी बढ्दै जाँदा सुरूङ लगायतमा क्षति हुन सक्ने जोखिम रहन्छ। त्यसैले पानी ल्याउने कार्य बन्द गर्न लागिएको हो,’ उनले भने।
बर्खापछि पुन: मेलम्चीको पानी काठमाडौं पठाइने उनले बताए।
मेलम्ची सुरूङभित्र बालुवा, गेग्रान पस्न सक्ने जोखिम रहेकोले सुरूङको ढोका बन्द गर्न लागिएको छ।
मेलम्चीको पानी काठमाडौं नआउँदा पानीको माग धान्न गाह्रो हुनेछ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ले मेलम्चीको पानी बर्खाभर नआउने अनौपचारिक जानकारी पाइएको बताएको छ।
केयुकेलको महाकालचौर शाखाले मेलम्चीको पानी आउन छाडेको बताएको छ।
मेलम्चीको पानी आउन छाडेकोले आजदेखि पानी वितरण तालिकासमेत परिमार्जन गरिएको उक्त शाखाले सूचना निकालेर उल्लेख गरेको छ।
केयुकेलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी आउन बन्द हुनेबारे औपचारिक सूचना प्राप्त भइनसकेको बताए।
उनका अनुसार मेलम्चीदेखि सुन्दरीजलसम्म मेलम्ची खानेपानी आयोजनाले नै हेर्ने गर्छ।
बर्खामा मेलम्चीको पानी नल्याउनेबारे अनौपचारिक जानकारी आएकोले त्यसैअनुसार केयुकेलका शाखाहरूले सूचना निकालेको उनले बताए।
०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंका घर-घरमा वितरण गर्न थालिएको थियो।
०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति गरेपछि लामो समयदेखि पानी ल्याउन सकिएको थिएन।
मेलम्चीमा अस्थायी संरचनाबाट पुन: पानी ल्याउन थालिएको थियो। वैशाख दोस्रो सातादेखि काठमाडौंका घर-घरमा पुन: मेलम्चीको पानी आउन थालेको थियो।
कमेन्ट गर्नुहोस्
view comments