न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताए : कामु प्रधानन्यायाधीश कार्की

4 वर्ष पहिले प्रकाशित

का.मु. प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन्।
आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिलेभन्दा सुधार भएको बताए।
उनले आफूले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्स्यौट बढेको बताए। उनले आफू नेतृत्वमा आउँदा मुद्दाको फर्स्यौट ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए। उल्लेख्य मात्रामा पुराना मुद्दाहरुको फैसला भएको उनले उल्लेख गरे।
उनले भने, ‘न्यायपालिका अहिले सुधारोन्मुख छ। हामीले विभिन्न अवरोधहरु, विभिन्न प्रवृत्तिहरु, विकृतिहरु, विसंगतिहरु बेहोर्‍यौँ। भोग्यौँ। र त्यो सुधार गर्नको निमित्त कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिवद्धताको साथ अहिले हामी आएका छौँ। म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले पहिलेको स्थितिभन्दा फरक ढंगबाट हेर्नुपर्छ।’

का.मु. प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए। उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए।

उनले भने, ‘गोलाको विकल्पमा तत्काल हामी जानसक्ने अवस्था पनि छैन। हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ। बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?