बूढानीलकण्ठबाट चितुवाको छालासहित चार जना पक्राउ
4 वर्ष पहिले प्रकाशित
वैशाख ४ गते ।काठमाण्डौको बूढानीलकण्ठबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका ७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका ९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका ५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका ४ का ३० वर्षीय विकास पुर्कुटीलाई गएको शुक्रवार पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको हो ।
बूढानीलकण्ठ नगरपालिका ८ गल्फुटारमा लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्व–पश्चिम गेस्ट हाउसबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट चितुवाको छाला दुई थान, छालाविनाको चितुवाको टाउको एक थान, विभिन्न कम्पनीको चार थान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौ पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्
view comments