विराटनगरको मेयरमा कांग्रेस र जसपाको दाबी, माओवादीको इच्छा उपमेयर
4 वर्ष पहिले प्रकाशित
वैशाख १ गते । विराटनगर महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका मेयर र उपमेयर दुबै पद नेपाली कांग्रेसले जितेको थियो । निर्वाचनमा तेस्रो स्थानमा रहेको जसपाले पनि २०७९ सालको स्थानीय तह निर्वाचनमा मेयरमा दाबी गरेको हो । २०७४ सालको निर्वाचनमा विराटनगरमा नेकपा एमालेका उम्मेदवार दोस्रो भएका थिए ।‘२०७४ सालको हार प्राविधिक हो, हाम्रो पक्षमा आएका धेरै भोट बदर भयो’, जसपा मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘विराटनगरमा हाम्रो संगठन मजवुत छ, हाम्रो दाबी मेयरमा छ ।’
२०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले सात वटा वडा जितेको थियो । जसपाले ६, नेकपा एमालेले तीन र माओवादी केन्द्रले एउटा वटा जितेको थियो । दुई वटा वडा स्वतन्त्र उम्मेदवारले जितेका थिए । तीमध्ये एक वडाध्यक्ष नेपाली कांग्रेसमा आवद्ध भएका छन् । जसपाका जिल्ला अध्यक्ष यादवले महानगरको दावी नछाड्न नेताहरुलाई खबरदारी गरिरहेको बताए । ‘महानगरको निर्णय केन्द्रले गर्छ, नेताहरुलाई मेयरको दाबी नछाड्न भनेका छौं,’ यादवले भने, ‘नगरपालिका र गाउँपालिकाको बाँडफाँड जिल्लामा बैठक बसेर टुङ्ग्याउछौं ।’
नेपाली काङ्ग्रेसको एउटा पक्ष विराटनगरमा तालमेल नगर्ने पक्षमा छ । काङ्ग्रेस नगर सभापति दीपक चापागाईं नेपाली काङ्ग्रेस एक्लै अघि बढ्नुपर्ने बताउँछन् । नगरले तालमेल नगर्ने निर्णय गरिसकेको छ ।
डा.शेखर कोइराला पक्ष पनि तालमेल गर्न नहुने पक्षमा छ । तालमेल गर्दा मेयर र उपमेयरमध्ये एउटा पद छोड्नुपर्ने चिन्ता नेपाली काङ्ग्रेसको कोइराला पक्षलाई छ । तामेल भए डा. कोइरालालाई गृहनगरमा घाटा हुने उनी निकट नेताहरुको विश्लेषण छ ।
कमेन्ट गर्नुहोस्
view comments