पाइपबाटै घरघरमा पुर्याउने जैविक फोहोरबाट बायो ग्यास उत्पादन गरिँदै
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन १७ गते ।दाङको घोराही उपमहानगमा दैनिक उत्पादन हुने जैविक फोहोरबाट ग्यास उत्पादन सुरू भएको छ। यहाँ करिब एक महिनाअघि ग्यास उत्पादन सुरू भएको हो।करिब साढे सात सय स्थानीय घरमा पाइप लाइनमार्फत ग्यास पुर्याउने उद्देश्य राखिएको छ। पहिलो चरणमा साढे चार सय घरमा ग्यास पुर्याउन काम हुँदैछ।
जैविक फोहोरबाट बायो ग्यास उत्पादन गर्न २०७५ मंसिर ५ मा घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी प्रालिका बीचमा त्रिपक्षीय सम्झौता भएको थियो।
सम्झौताअनुसार नेपाल ऊर्जा विकास कम्पनीले प्लान्ट स्थापना गरी जैविक फोहोरबाट बायो ग्यास उत्पादन सुरू गरेको हो। प्लान्टका लागि घोराही नगरले वडा नंं १६ को करौती डाँडास्थिति ल्यान्डफिल साइट नजिकै तीन बिघा जग्गा उपलब्ध गराएको थियो। सोही ठाउँमा कम्पनीले बायो ग्यास उत्पादन सुरू गरेको हो।
कम्पनीका शाखा प्रमुख हरिशरण श्रेष्ठका अनुसार बायो ग्यास उत्पादनको सम्पूर्ण संरचनासहित बीस वर्षपछि घोराही उपमहानगरलाई हक हस्तान्तरण हुनेछ।
ुहामीले दैनिक दुई सयदेखि साढे दुई सय घन मिटर ग्यास उत्पादन गर्नेछौं,ु उनले भने।आगामी नयाँ वर्षमा प्रत्येक घरमा पाइप लाइनमार्फत खाना पकाउने ग्यास पुर्याउने योजना छ। आवश्यक पाइप भारतबाट मगाइएको छ र आउने क्रममा छ।ुपहिलो चरणमा घोराहीको नारायणपुर बजार क्षेत्र र ल्यान्डफिल साइड प्रभावित क्षेत्र आसपासका झन्डै पाँच सय जति घरको भान्सामा पाइपलाइन जोडिने श्रेष्ठले बताए। उपभोक्ताका लागि यो ग्यास हालको सिलिन्डरको हिसाबले साढे दुई सय रूपैयाँसम्म सस्तो पर्ने उनको भनाइ छ।
‘सुरूको आठ महिना जग्गामा रहेका रूखबिरुवा कटानको प्रक्रिया मिलाउनमै लाग्यो,’ श्रेष्ठले भने, ‘धमाधम काम भइरहेको समयमा महामारीले काम रोकिएर झन् ढिलो भयो।’फोहोरबाट ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने भएको छ।
उपमहानगरप्रमुख नरूलाल चौधरीका अनुसार बायो ग्यास प्लान्ट प्रभावकारी रुपमा सञ्चालन गरेर नगरको आम्दानी पनि वद्धि गर्ने लक्ष्य छ।
ग्याससँगै कम्पोस्ट मल उत्पादन गर्दा फोहोर व्यवस्थापन सहज हुने र जैविक मलको प्रयोग पनि बढ्ने आफ्नो विश्वास रहेको उनले बताए। घोराहीको बायो ग्यास प्लान्ट अवलोकनका लागि विभिन्न ठाउँबाट मानिसहरु आउन थालेका छन्।
उपमहानगरले अजैविक फोहोर पनि किन्ने व्यवस्था गरेको छ। प्लास्टिकको बोतलसहित नरम पोलिथिन प्रतिकिलो दस रूपैयाँ, कपडा प्रतिकिलो पाँच रूपैयाँ, सूर्तीजन्य प्लास्टिकको फोहोर प्रतिकिलो दुई रूपैयाँ, कागज वर्गीकरण अनुसारका फोहोर दस रूपैयाँदेखि बीस रूपैयाँ प्रतिकिलो गर्न थालेको छ।
कमेन्ट गर्नुहोस्
view comments