मिथिलामा झुलनोत्सवको रौनक, मठमन्दिरमा गुञ्जिन थाले झुलागीत

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ३१ गते ।  साउन शुक्ल तृतीयासँगै मिथिला क्षेत्रमा झुलनोत्सव सुरु भएको छ। पर्व सुरु भएसँगै महोत्तरीसहित मिथिलाका मठमन्दिरमा विष्णु–लक्ष्मी भक्तिका झुलागीत गुञ्जिन थालेका छन्। राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुलामा राखेर भजन–कीर्तन गर्दै झुलाउने यो पर्व साउन पूर्णिमासम्म मनाइन्छ। पर्वका अवसरमा मठमन्दिरमा श्रद्धालुको चहलपहल बढेको छ।

मिथिला परम्परामा झुलनोत्सवलाई भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनको पर्वका रूपमा लिइन्छ। मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार बालरूपका भगवान् तथा भगवतीलाई झुलामा झुलाउने परम्पराले भगवान् राम र कृष्णलाई क्रमशः कौशल्या तथा यशोदाले बाल्यकालमा कोक्रामा झुलाएको स्मरण गराउँछ। पर्वमा मैथिली लोकलयका झुला, मलार र कजरी गीत गाउने चलन छ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर, जलेश्वर–१ तथा बर्दिबास–१४ स्थित रामजानकी कुटीलगायत स्थानमा झुलामहोत्सव विशेष रूपमा मनाइन्छ। मटिहानीमा शनिबार लक्ष्मीनारायणका प्रतिमालाई डोलीमा राखेर बाजागाजासहित झुलाघर पुर्‍याउँदै पर्वको सुरुवात गरिएको छ। पर्वभरि विभिन्न मठमन्दिरबाट प्रतिमा ल्याइने भएकाले मटिहानीमा साधुसन्त तथा श्रद्धालुको विशेष जमघट हुने गरेको छ।

झुलनोत्सवको सम्बन्ध मिथिलाको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको छ। जनकपुरधाममा साउन शुक्ल तृतीयाका दिन मणिपर्वतको पूजा गरेर पर्व सुरु गर्ने परम्परा रहेको मानिन्छ। मैथिली पञ्चाङ्ग परम्पराअनुसार साउनदेखि वर्षका प्रमुख चाडपर्वको क्रम सुरु हुने भएकाले मधुश्रावणी, झुला, नागपञ्चमी र रक्षाबन्धनजस्ता पर्वले मिथिलाको धार्मिक तथा सांस्कृतिक जीवनमा विशेष महत्त्व राख्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?