सरकारी कागजात दुरुपयोगको आरोपमा प्रतापपुर गाउँपालिका अध्यक्ष यादवको खोजी तीव्र
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण ३१ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई प्रहरीले पक्राउ गर्न खोजी तीव्र पारेको छ। पोखरी निर्माणका क्रममा सरकारी कागजात दुरुपयोग गरेको आरोपमा मुद्दा दर्ता भएपछि प्रहरीले यादवको खोजी थालेको हो। यसअघि नवलपरासी जिल्ला अदालतले साउन २० गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।
पक्राउबाट जोगिन यादव उच्च अदालत बुटवल पुगेका थिए। उच्च अदालतले तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि उनी पक्राउ पर्नबाट जोगिएका थिए। तर, शुक्रबार उच्च अदालत बुटवलले उक्त आदेशलाई निरन्तरता नदिएपछि यादवलाई पक्राउ गर्ने बाटो खुलेको हो। अदालतको आदेशपछि इलाका प्रहरी कार्यालय बेलाटारी र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उनको खोजी तीव्र बनाएका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार यादव फरार रहेकाले उनको खोजतलास भइरहेको छ। उनले अदालतबाट पक्राउ गर्ने बाटो खुलेसँगै प्रहरी टोली परिचालन गरिएको र यादवलाई पक्राउ गरी कानुनी प्रक्रियामा अघि बढाइने बताए।
कमेन्ट गर्नुहोस्
view comments