झारखण्डमा तीर्थयात्री बोकेको बस दुर्घटना, रौतहटका तीन जनाको मृत्यु

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २९ गते ।  रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीबाट भारतको झारखण्डस्थित बाबाधाम दर्शनका लागि गएका तीर्थयात्री सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। ना.६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे कोडरमा जिल्लाको सतगावाँ थाना क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो।

दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवल जयसवाल, उनकी श्रीमती र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको र बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीर जाने क्रममा दुर्घटना भएको बताइएको छ। ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

घटनालगत्तै सतगावाँ प्रहरीले उद्धार गरी घाइतेहरूलाई नजिकका अस्पतालमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक अनुसन्धानमा चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने आशंका गरिए पनि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबरपछि मृतक तथा घाइतेका आफन्तहरू शुक्रबार बिहानै चारवटा सवारीसाधन रिजर्भ गरेर भारततर्फ गएका छन्। अधिकांश मृतक तथा घाइते पोठियाहीका स्थानीय रहेको बताइएको छ। स्थानीयले भारतस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायसँग समन्वय गरी मृतकको शव नेपाल ल्याउन तथा घाइतेको उपचार र उद्धारलाई सहज बनाउन माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?