अदालतको मूल गेट मैं मिटरब्याज पीड़ितद्वारा आत्मदाहको प्रयास
4 घन्टा पहिले प्रकाशित
घनश्याम मिश्र
जनकपुरधाम, श्रावण २७ गते । धनुषा जिल्ला अदालतअगाडि मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–४ निवासी फुलकुमारी रजकले बुधबार दिउँसो अदालतअगाडि मिटरब्याज पीडितहरूको विरोध प्रदर्शनका क्रममा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्। प्रहरीले तत्काल नियन्त्रणमा लिएपछि उनको शरीरमा आगो लगाउन भने पाइनन्। प्रहरीको समयमै भएको हस्तक्षेपका कारण सम्भावित ठूलो दुर्घटना टरेको हो।
मिटरब्याज पीडितहरूले अदालत पुग्नुअघि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि समेत प्रदर्शन गरेका थिए। जिल्ला अदालतमा पक्राउ परेका साहुहरू गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस भइरहेका बेला पीडितहरूले विरोध प्रदर्शन गरेका हुन्। आत्मदाहको प्रयासपछि प्रहरीले फुलकुमारी रजकलाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments