मधेसको पछिल्लो तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालका भ्रामक सामग्री नियन्त्रणमा जोड

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २६ गते । मधेस प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो राजनीतिक र सुरक्षा अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेसका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन्। गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको बैठकमा मधेसमा देखिएको तनाव, त्यसका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक तथा उत्तेजनात्मक सामग्री र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे छलफल भएको थियो।

छलफलमा अधिकांश सांसदले सामाजिक सञ्जालमा फैलिएका भ्रामक तथा उत्तेजना फैलाउने भिडियोका कारण सर्वसाधारणमा आक्रोश बढेर आन्दोलन चर्किएको धारणा राखेका थिए। उनीहरूले गलत सूचना नियन्त्रणमा राज्यका निकाय थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सभापति तथा सांसद तपेश्वर यादवले गृहमन्त्रीको सक्रियताले अवस्था क्रमशः सहज बन्दै गएको बताए भने सांसद पुनम अग्रवालले सीमावर्ती क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य वस्तु सहज रूपमा ल्याउन पाउने वातावरण बनाउनुपर्ने धारणा राखिन्। नेपाली कांग्रेसकी सांसद रेखा यादवले धर्मका नाममा हुने राजनीति तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि रोक्न राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताइन्। बैठकको अन्त्यमा गृहमन्त्री गुरुङले अवस्था सामान्य बनाउन सहयोग गर्ने सबै दल र सांसदलाई धन्यवाद दिँदै आगामी दिनमा तनावपूर्ण अवस्था दोहोरिन नदिन संवाद र सहकार्यमा जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?