देवानगञ्ज घटनाका मृतक रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २६ गते ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच भएको छलफलपछि सहमति जुटेको हो।

सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ भने घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गरिनेछ। देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे आवश्यक छानबिन गर्ने, मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा छानबिन समितिको प्रतिवेदनका सुझाव र सिफारिस कार्यान्वयन गर्ने सहमति भएको छ। यस्तै, सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत मेहताको शव देवानगञ्ज लैजाने व्यवस्था गरी अन्त्येष्टि गर्ने तथा घटनामा ज्यान गुमाएका तीन जनाको स्मृतिमा स्थानीय सरकारसँगको समन्वयमा यसै वर्ष स्मृति पार्क निर्माणका लागि बजेट विनियोजन गर्ने सहमति पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?