वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन
6 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २६ गते ।वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ। गएराति अक्सिजनको मात्रा कम भएपछि परिवारले उपचारका लागि जनकपुर अस्पताल पुर्याएका विमलको उपचारकै क्रममा मंगलबार बिहान निधन भएको हो। धनुषाको जनकपुर–१० देवीचोकमा जन्मिएका विमलले नेपाली, हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तथा भाषाविज्ञानमा विद्यावारिधि गरेका थिए। २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनमा संलग्न उनी नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्दै आएका थिए। नेपाली भाषा–वाङ्मयमा पुर्याएको योगदानका लागि उनलाई २०६६ सालमा जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो।
मैथिली विकास कोष जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहेका विमलले मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनका ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘डा. विमलका कथाहरू’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’ लगायतका कृति प्रकाशित छन्। उनको पहिलो कथा ‘विपतिया’ मिथिला मिहिर पत्रिकामा प्रकाशित भएको थियो भने उनका रचना गोरखापत्र, मधुपर्क र गरिमालगायतका पत्रिकामा प्रकाशित हुँदै आएका थिए। उनको कथामा आधारित ‘हंसा चलल परदेश’ मैथिली टेलिफिल्म नेपाल टेलिभिजनबाट समेत प्रसारण भएको थियो। साहित्यकार नित्यानन्द मण्डलका अनुसार विमलको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीडा, प्रेम, वियोग, आक्रोश र विद्रोह सशक्त रूपमा अभिव्यक्त भएको पाइन्छ। उनको निधनले मैथिली साहित्य, भाषा आन्दोलन र मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकारहरूले बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments