मधेसमा पाँच वर्षमा ९९ ट्रान्सफर्मर चोरी, सिँचाइ प्रभावित हुँदा किसान चिन्तित
23 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २२ गते । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका छन्। नेपाल विद्युत् प्राधिकरण, मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार पछिल्ला पाँच वर्षमा प्रदेशभर ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन्। ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढ्दै गएको उनले बताए। चोरी भएका ट्रान्सफर्मरमध्ये महोत्तरीमा सबैभन्दा बढी ३५ वटा, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा रहेका छन्। चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभीएदेखि २०० केभीएसम्म रहेको प्राधिकरणले जनाएको छ।
ट्रान्सफर्मर चोरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा विशेषगरी सिँचाइमा निर्भर किसान प्रत्यक्ष प्रभावित भएका छन्। समयमा सिँचाइ गर्न नपाउँदा खेतीपातीमा समस्या उत्पन्न भएको भन्दै कृषकहरूले दोषीलाई तत्काल पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यता, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा दोषीको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments