धनुषामा एलपीजी ग्यास वितरणमा कडाइ, अब एक परिवारलाई एक सिलिन्डर मात्र
23 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण २२ गते । धनुषा जिल्लामा खाना पकाउने एलपीजी ग्यासको सम्भावित अभाव रोक्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकाय, ग्यास उद्योग तथा बिक्रेतासँग बसेको संयुक्त बैठकले ग्यासको सहज आपूर्ति र समानुपातिक वितरण सुनिश्चित गर्न यस्तो निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जिल्लामा रहेका एलपीजी ग्यास उद्योगले दैनिक बिक्री हुने ग्यासको अभिलेख राख्दै धनुषालाई प्राथमिकतामा राखेर आपूर्ति गर्नुपर्ने निर्णय गरिएको छ। त्यस्तै, ग्यास बिक्रेताले एक परिवारलाई एक सिलिन्डर मात्र बिक्री गर्दा उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। घरेलु उपभोक्तालाई व्यावसायिक प्रयोजनभन्दा पहिलो प्राथमिकता दिई ग्यास बिक्री–वितरण गर्न पनि निर्देशन दिइएको छ।
प्रशासनले सर्वसाधारणलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित रूपमा ग्यास भण्डारण गर्ने, बढी मूल्य असुल्ने, सहज आपूर्ति नगर्ने वा कालोबजारीमा संलग्न व्यवसायीलाई कानुनबमोजिम कारबाही गरिने प्रजिअ लुइँटेलले चेतावनी दिएका छन्। साथै, संयुक्त बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै ग्यासको माग, आपूर्ति र बिक्री–वितरणको नियमित अनुगमन गरिने निर्णय पनि गरिएको छ। पछिल्ला दिनमा ग्यास आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले ग्यास डिपोहरूको नियमित निरीक्षणसमेत गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments