पारिश्रमिकबाट २० प्रतिशत घुस मागेको आरोप, सप्तरीका पशु सेवा कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २१ गते । सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. रामपवित्र दाससहित दुई जनाविरुद्ध गैरकानुनी रूपमा घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खोप कार्यक्रम सम्पन्न गर्न नियुक्त भ्याक्सिनेटरहरूलाई कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्ने क्रममा २० प्रतिशत रकम घुस मागिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। अनुसन्धानबाट कार्यालय प्रमुख डा. दासले सवारी चालक भोगेन्द्र यादवसँग मिलेमतो गरी भुक्तानी रकमको कम्तीमा २० प्रतिशत घुस माग्दै सेवाग्राहीसँग मोलमोलाइ गरेको खुलेको आयोगले जनाएको छ।

आयोगले दुवै जनाविरुद्ध एक लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय तथा जरिवानाको मागदाबीसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?