आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ५ गते ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।

निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।

पेश गर्नु पर्ने कागजात

दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेश गर्नुपर्नेछ ।

विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता शर्तसहितका कागजातसमेत दर्ताका अवसरमा पेश गर्नुपर्नेछ ।

राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।

दलको कोष, आर्थिक व्यवस्थापन र त्यसका जिम्मेवार पदाधिकारी, उम्मेदवार मनोनयन कार्यविधि, अनुशासन कारबाही र पुनरावेदन सुन्ने संयन्त्र, लेखा परीक्षण, नीति तथा कार्यक्रम निर्माणमा सदस्य तथा तल्ला निकायको सहभागिता, विधान संशोधन, विघटन, नियमावली बनाउने अधिकार, सदस्यता र नवीकरण शुल्कलगायत विषय विधानमै उल्लेख हुनुपर्नेछ ।आयोगमा हाल करिब ११९ दल दर्ता कायम छ । विसं २०७४ को निर्वाचनमा भाग लिएका दलमध्ये स्थानीय तहमा तत्कालीन १८ दलको प्रतिनिधित्व थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?