प्रदेश १ मा दोस्रोपटक सरकार विस्तार, महिला प्रदेश सांसदहरुको तीव्र असन्तुष्टि
4 वर्ष पहिले प्रकाशित
२०७८ माघ २६ गते । प्रदेश १ मा दोस्रोपटक सरकार विस्तार गरिएको छ। जसमा महिला प्रदेश सांसदहरुले तीव्र असन्तुष्टि पोखेका छन्।मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार १३ वटा मन्त्रालयसहित मन्त्रीको संख्या १४ पुर्याए। १४ मन्त्रीमा २ जना महिला छन्। प्रदेशसभामा पाँचदलीय गठबन्धनतर्फ २० जना महिला सांसद छन्।प्रदेशसभामा नेपाली कांग्रेसका २१ सदस्यमध्ये ७ जना महिला छन्। दोस्रोपटकको मन्त्रिमण्डल विस्तारमा कांग्रेसले ५ वटा मन्त्रालय पायो। मन्त्रिमण्डलमा कांग्रेसबाट महिलाको सहभागिता शून्य छ। कांग्रेस प्रदेशसभा सदस्य शान्ता पौडेलले सरकार गठनमा महिलाको उपस्थिति नगराइनु आपत्तिजनक भएको बताइन्।
महिलालाई दलका केही सीमित मन्त्रीले पाखा लगाएको आरोप लगाउँदै पौडेलले महिलाको उपस्थिति ३३ प्रतिशतसमेत गराउन नसक्ने सरकारबाट धेरै अपेक्षा गर्नु आफैमा निरर्थक हुने बताइन्।पार्टीले समेत महिला नेतृत्वलाई नजरअन्दाज गरेको उनी बताउँछिन्। कांग्रेसले हिमाल कार्की र केदार कार्कीसँगै नयाँ अनुहारमा शेखरचन्द्र थापा, ओमप्रकाश सरावगी र प्रतापप्रकाश हांगगामलाई मन्त्री बनाएको छ।
त्यसैगरी १० सांसदसहित सत्ताको नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रदेशसभामा ६ जना महिलाको उपस्थिति छ। एकीकृत समाजवादीबाट इलाम क्षेत्र नं १ बाट प्रतिनिधित्व गरेकी खिनु लंगवा लिम्बू मन्त्री बनेकी छन्। उनले पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मा पाएकी छन्।
समाजवादीमा सावित्री रेग्मी पनि मन्त्री बन्ने चर्चामा थिइन्। समाजवादीले राजन राई र उपेन्द्रप्रसाद घिमिरेलाई मन्त्री बनाएको छ।१५ जनामध्ये नेकपा माओवादी केन्द्रका ५ जना महिला प्रदेश सांसद छन्। माओवादीले सरस्वती पोखरेललाई उपसभामुखको जिम्मेवारी दिएको छ। तर, दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा माओवादीबाट कुनै पनि महिला सांसदलाई मन्त्री बनाइएन।सरकार विस्तार गर्ने क्रममा धनकुटाकी कुसुमकुमारी श्रेष्ठ, सुनसरीकी उमिता विश्वकर्मा, पाँचथरकी सीता थेबे मन्त्री बन्ने लाइन थिए।। तर उनीहरुले पालो पाएनन्।
तीन जना प्रदेशसभा सदस्य रहेको जनता समाजवादी पार्टी नेपालमा एकजना महिला सांसद छन्। जसपाकी राधा थापा पनि मन्त्री बन्न पाएनन्। जसपाबाट जयराम यादव सामाजिक विकासमन्त्र छन्।एकमात्र प्रदेशसभा सदस्य रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुकुमारी तुम्बाहाम्फे राज्यमन्त्री बनेकी छन्। उनले सामाजिक विकास राज्यमन्त्रीमा पुनः अवसर पाएकी छन्।
तैपनि मन्त्रिमण्डल विस्तारलाई लिएर उनको दलको तीव्र असन्तुष्टि छ। दोस्रोपटकसमेत राज्यमन्त्रीमा अटाएकी तुम्बाहाम्फेले गठबन्धनको अस्तित्व र नैतिकता जोगाउनका लागि सपथग्रहणमा सरिक भएको बताइन्।मुख्यमन्त्री राईसहित माओवादी केन्द्र, कांग्रेस र जसपाले दलसँग गरेको भद्र सहमति तोडेको उनको आरोप छ। राष्ट्रिय सभाको निर्वाचनपछिको मन्त्रिपरिषद् बैठकमा १२ मन्त्रालयमा सहमति गराएर भागबन्डाका लागि १३ वटा मन्त्रालय पुर्याउने कार्य आश्चर्यजनक भएको राज्यमन्त्री तुम्बाहाम्फेको भनाइ छ।
राज्यमन्त्री तुम्बाहाम्फे भन्छिन्, ‘हिजो १२ मन्त्रालय बनाउने सहमति गराइयो। तर, आइतबारको घटनामा १३ वटा मन्त्रालय पु¥याइयो। मन्त्रालयको संख्या बढाउने विषयमा छलफल भएन। केही सीमित मन्त्री बसेर मन्त्रालय बढाएका छन्। यसमा हाम्रो दलको आपत्ति रहेको छ। आन्तरिकबाट किन सञ्चार निकालियो ?
उनका अनुसार मन्त्रालयको संख्या थप गरिँदा गठबन्धनमा कुनै छलफल भएको छैन। ‘दलीय गठबन्धन बनाउने क्रममा मुख्यमन्त्री राईसँगै चार दलले आफूलाई मन्त्रालयको पूर्ण जिम्मेवारी दिने वाचा गरेका थिए। तर, गठबन्धनले हामीमाथि असामाजिक र हेप्ने काम गरेको छ। हाम्रो दल अब पनि राज्यमन्त्रीको जिम्मेवारीमा रहन सक्तैन’, उनले भनिन्।
गठबन्धन गर्ने क्रममा सानो दल भए पनि मन्त्रालयमा अटाउने बाचा गरेको उनको भनाइ छ। तर सरकारले नै पटकपटक लत्याउने काम गरेको भन्दै उनले भनिन्, ‘महिला भनेर नै हामीलाई नेतृत्व दिन सरकारले चाहेको छैन। यस्तै रवैया भए राज्यमन्त्रीमा बस्दिनँ। मुख्यमन्त्रीले छलेर टारेर उम्कन पाउनुहुन्न। संस्थागत रुपमा सरकारको बैठक र समितिमा उपस्थित हुन नपाएपछि मन्त्रालयमा थपना भएर बस्नुको औचित्य नै छैन।’
कमेन्ट गर्नुहोस्
view comments