सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात, राजमार्ग अवरुद्ध
4 वर्ष पहिले प्रकाशित
२०७८ पुष १४ गते । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ ।लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानीलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।
सडक अवरुद्ध
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको छ । हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राजमार्ग खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको छ ।बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएपछि चिसो बढेको छ । चिसो बढ्दा जनजीवन कष्टकर भएको छ ।
कमेन्ट गर्नुहोस्
view comments