रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी घोषणा
4 वर्ष पहिले प्रकाशित
पुस ८, २०७८
रन्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन्। उनले अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने घोषणा गरेकी हुन्।पत्रमा उनले लेखेकी छन्, ‘विसं २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौँ उतारचढाव आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’
रन्जुले अघि लेखेकी छन्, ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भैरहेका सम्पूर्ण कदम, व्यवहारले आगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’
आफ्ना लागि योभन्दा दुःख लाग्ने कुरा अन्य नरहेको रन्जुले भनेकी छन्। ‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोलमात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्वता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु।’उनले अघि लेखेकी छन्, ‘तसर्थ यसै इमेल र पत्रमार्फत सदाका लागि यस पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु। तपाईँ सबैको मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस्।’
कमेन्ट गर्नुहोस्
view comments